Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीलागुऔषधको उच्च जोखिममा स्कुल–कलेजका विद्यार्थी

लागुऔषधको उच्च जोखिममा स्कुल–कलेजका विद्यार्थी

वीरगन्ज,१२ असार /
नेपालमा लागुऔषध दुर्व्यसनी दिनप्रतिदिन बढिरहँदा स्कुल–कलेज र होस्टेल सबैभन्दा जोखिमपूर्ण क्षेत्र देखिएका छन् । साथीसंगीको दबाब र संगतले धेरैजसो स्कुल, कलेज तथा होस्टेलमा दुर्व्यसनमा फस्ने गरेको गृह मन्त्रालयको सर्वेक्षण तथा प्रहरी अनुसन्धानले देखाएको छ ।

कलिलो उमेरमा यसको जोखिमबारे ज्ञान नहुने र कारोबारीले पनि स्कुल–कलेजलाई नै लक्षित गरी कारोबार गर्दै आएका छन् । दुर्व्यसनको जोखिम घटाउन अभिभावक तथा स्कुल/कलेज सञ्चालकले विशेष ध्यान दिनुपर्ने मुख्य लागुऔषध नियन्त्रण अधिकारी रहेका गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसाल बताउँछन् । ‘अभिभावक, विद्यालय सञ्चालक र होस्टेल सञ्चालकले ध्यान दिन सकेमा किशोर–किशोरीलाई धेरै हदसम्म दुर्व्यसनबाट जोगाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसमा मुख्य कुरा सचेतना हो ।’

डा. भुसालका अनुसार आमा–बुबा टाढा भएका तथा राम्रो अभिभावकत्व नपाएका किशोर–किशोरी धेरै दुर्व्यसनमा फसेका छन् । गृह मन्त्रालयले तीन वर्षअघि गरेको सर्वेक्षणमा धेरैजसो १९ वर्षभन्दा पहिले नै दुर्व्यसनमा फसिकेका हुने पाइएको थियो । ८ देखि १२ कक्षा अध्ययन गर्ने क्रममा धेरैजसो साथीसंगतबाट यस्तो कुलतमा फस्ने गरेका छन् । यही उमेरमा दुर्व्यसनको मुख्य जोखिम हुने गरेको छ । धेरैजसो दुर्व्यसनबाट कारोबारमा फस्ने गरेका छन् । दुर्व्यसनीमध्ये ६७।७ प्रतिशतले साथीसँगै लागुऔषध किन्ने गरेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ पुस्तालाई दुर्व्यसनबाट बचाउन स्थानीय तहको पनि मुख्य भूमिका हुने सहसचिव भुसालको भनाइ छ । ‘क्षेत्रअनुसार लागुऔषध दुर्व्यसनका फरक समस्या छन्,’ उनी भन्छन्, ‘यसका लागि सम्बन्धित स्थानीय तहले योजना बनाएर जनचेतनालगायतका काम गर्नु जरुरी छ ।’ तीन वर्षअघि नेपालमा एक लाख ३० हजार चार सय २५ दुर्व्यसनी थिए । दुर्व्यसनको वृद्धिदर ५।०४ प्रतिशत छ । जसअनुसार हाल एक लाख ४० हजार नाघिसकेको अनुमान छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: