Saturday, February 24, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगरमा कुन पार्टीबाट को–को छन् आकांक्षी ?

वीरगन्ज महानगरमा कुन पार्टीबाट को–को छन् आकांक्षी ?


वीरगन्ज,१० चैत /

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । मधेस प्रदेश निर्वाचनमय हुँदै छ ।

प्रमुख पार्टीका शीर्ष नेताहरू समेत मधेसमा व्यस्त हुन थालेका छन् । चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् । यसपालि आर्थिक राजधानी भनिएको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सबै दलको ध्यानकेन्द्रित भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम ९जनता समाजवादी पार्टी नेपाल०बाट वीरगन्जको मेयरमा निर्वाचित विजय सरावगी पार्टी परित्याग गरी गएको फागुन २७ गते एमालेमा प्रवेश गरे । त्योसँगै वीरगन्जको राजनीति तरंगित भएको छ ।

मधेस आन्दोलनबाट उदाएका नेता राजेशमान सिंह पनि एमालेमा प्रवेश गर्ने तयारीमा थिए । माघ २९ गते उनले सार्वजनिक रूपमै एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सरावगी पहिले प्रवेश गरेपछि सिंह असन्तुष्ट बने ।

“मेरो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भइरहेको थियो । तीनवटा मिति पनि तय भयो, पार्टी प्रवेश गर्ने,” उनले भने, “तर, स्थानीय नेताहरूले सबै मितिलाई सार्दै गए । ओलीजी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन आएको बेला उहाँहरूले वर्तमान मेयरलाई प्रवेश गराउनुभयो ।”

स्थानीय नेताले ‘षड्यन्त्र’ गरेको उनको बुझाइ छ । सोही कारण आफूले जनता समाजवादी पार्टी ९जसपा० रोजेको उनले बताए । सिंह लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० परित्याग गरी चैत ७ गते जसपामा प्रवेश गरे । अब एमालेले सरावगी र जसपाले सिंहलाई मेयरका रूपमा अगाडि सार्ने निश्चितजस्तै छ ।

सरावगीले जसपा नेताले काम गर्न नदिएका कारण पार्टी त्याग गरेको बताए । नेताहरूले आफूलाई सहयोग गर्नुको साटो असहयोग गरेको उनको आरोप छ ।

“केन्द्र र प्रदेशमा आफ्नै सरकार हुँदा पनि अपेक्षाअनुसार काम गर्न सकिएन,” उनले भने, “जनताले त मसँग जवाफ माग्छन् । समग्रमा उहाँहरूले सहयोग गर्नु भएन । असहयोग गरेकै कारण एमालेमा गएको छु ।” एमालेबाट पुनः मेयरमै उठ्ने निश्चित रहेको उनको भनाइ छ ।

लोसपाबाट जिल्ला अध्यक्ष समेत रहेका पुरुषोत्तमलाल झा पनि वीरगन्ज मेयरका आकांक्षी छन् । झा पञ्चायतकालमा उपप्रमुख भइसकेका व्यक्ति हुन् । यसअघि नै पार्टीले आश्वासन दिएको भन्दै आफ्नो मूल्यांकन भए टिकट पाउनेमा उनी ढुक्क देखिन्छन् ।

लोसपाका नगर सभापति ओमप्रकाश सराफले झा नै आफ्नो पार्टीबाट उमेदवार बन्ने सम्भावना रहेको बताए ।

पटक–पटक वीरगन्जको प्रमुख भइसकेका तथा ०७४ मा तत्कालीन राजपाबाट मेयरमा पराजित विमल श्रीवास्तव लोसपामै छन् । उनले यसपालि झालाई समर्थन गर्ने बताइएको छ ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षत्रीले मेयरको उमेदवारबारे अहिलेसम्म औपचारिक छलफल नभएको बताए । आठ आकांक्षीले अनौपचारिक रूपमा ‘लबिङ’ गरे पनि पार्टीले उमेदवार छनोट प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ ।

यही साताभित्रै वडा समिति हुँदै महानगरको उमेदवार छनोट प्रक्रिया थाल्ने उनले जानकारी दिए । यसअघि कांग्रेसबाट मेयरका आकांक्षी रहेका अजय द्विवेदी भने यसपालि खुलेका छैनन् । जनतासँग भिजेको, लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको र जनताले रुचाएको निष्पक्ष छविका मान्छेलाई पार्टीले उमेदवार बनाउने उनले बताए ।

नेकपा माओवादी केन्द्र यसअघिकै उमेदवारलाई अगाडि सार्ने मनस्थितिमा छ । ०७४ मा माओवादीले मोहमद रहबर अन्सारीलाई उमेदवार बनाएको थियो ।

माओवादीका पर्सा इन्चार्ज विजय महतोले उमेदवार टुंगो नलागेको बताए । तर, पहिलो प्राथमिकता रहबरलाई दिइने उनी बताउँछन् । पार्टी र जनताप्रतिको लगावका कारण उनलाई नै अगाडि सारिने महतोको भनाइ छ ।

उनका अनुसार ३१ वर्षीय रहबरले युवामाझ लोकप्रिय छवि बनाएका छन् । वीरगन्जमा मुस्लिम मतदाताको संख्या बढी भएकाले पनि सोही समुदायका उनलाई उमेदवार बनाउने सम्भावना छ ।

डा। सीके राउत नेतृत्वको जनमत पार्टीले समेत वीरगन्जमा उमेदवार उठाउने तयारी गरेको छ ।

यसपालि वीरगन्जमा एमाले, कांग्रेस र जसपाबीच कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । दलहरूबीच चुनावी तालमेल हुँदा भने स्थिति फरक हुनसक्छ ।

०७४ को निर्वाचनमा सरावगी १९ हजार ३९३ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार १९७ मत पाएका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन राजपाका उमेदवार सिंह अहिले जसपामा छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: