Saturday, February 24, 2024
spot_img
Homeफिचर८ महीनामा सवा ५ खर्बको वैदेशिक व्यापार

८ महीनामा सवा ५ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो ।

चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । गत आवको सोही अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएको थियो । आयात बढेर वैदेशिक विनिमयमा दबाब परेपछि सरकारले आयातमा कडाइ गरेको छ ।

४ खर्ब ६३ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात भने ६६ अर्ब रुपैयाँको मात्र भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अघिल्लो वर्षको फागुनसम्ममा २६ अर्ब रुपैयाँको निकासी व्यापार भएको तथ्यांक भन्सार कार्यालयसँग छ । निकासी व्यापार गत आवको भन्दा १५२ प्रतिशतले बढेको देखिन्छ । यस्तै आयातमा ५२ प्रतिशत वृद्धि भएको छ ।

वीरगञ्ज नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ छन् । नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको अधिकांश परिमाण यही नाकाबाट भित्रिन्छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पदार्थ ल्याउने गरेका छन् ।

निकासीतर्फ प्रशोधित खानेतेल, जुस, कपडा, जुत्तालगायत वस्तु मुख्य रहेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । आयात र निर्यातको तुलना गर्दा यो नाकाको वैदेशिक व्यापारबाट मात्रै करीब ४ खर्ब रुपैयाँ व्यापार घाटा देखिन्छ । यो गत आवको समीक्षा अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो ।

यसैगरी वीरगञ्ज भन्सारले चालू आवको ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ । भन्सारलाई १ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएकोमा लक्ष्यभन्दा करीब ४ प्रतिशत बढी उठेको पौडेलले बताए । यो गत आवको सोही अवधिको तुलनामा ३४ अर्ब रुपैयाँ बढी हो ।

कुल राजस्वमध्ये भन्सारतर्फ ५० अर्ब ६ करोड, मूल्यअभिवृद्धि कर ५४ अर्ब ७४ करोड र अन्त:शुल्क १५ अर्ब उठेको छ । भन्सारले यो अवधिमा १० अर्ब रुपैयाँ पूर्वाधार कर पनि उठाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: