Monday, February 26, 2024
spot_img
Homeमधेश प्रदेशपर्सामा नागरिकता लिनेको भीड बढेपछि सेवा विस्तार

पर्सामा नागरिकता लिनेको भीड बढेपछि सेवा विस्तार


वीरगन्ज,७ पौष /
गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन भइरहेपछि जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता लिनेहरूको भीड बढ्दैछ ।

मङ्गलवारदेखि बिहान ८ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन भइरहेको छ । भीडका कारण कार्यालयको कामकाज अस्तव्यस्त भएको छ । दक्ष कर्मचारी र जनशक्तिको अभावमा छिटो काम नभएको र ससाना कुरामा कर्मचारीहरूले झमेला गर्न थालेका छन् ।

अहिले नयाँ र प्रतिलिपि नागरिकता दैनिक करीब दुई सयवटा वितरण भइरहेको कार्यालयले जनाएको छ । भीडका कारण अहिले जिल्ला प्रशासन कार्यालय, पर्साबाट नागरिकताको प्रमाणपत्र लिन बढीमा सात दिनसम्म कुर्नु परिरहेको छ ।

कर्मचारी पर्याप्त मात्रामा नभएका कारण सेवा प्रभावकारी हुन नसकेको हो । चारजना अधिकृतको ठाउँमा अहिले दुईजना मात्र कार्यरत छन् र त्यसमा पनि एकजनालाई इलाका प्रशासन कार्यालय, सुपौलीको जिम्मेवारी दिइएको छ ।

इलाका प्रशासन कार्यालय, सुपौलीबाहेक अन्यत्र शाखा नहुनुले पनि जिल्लाको सबै भार थेग्नुपर्दा जिल्ला प्रशासन कार्यालय, पर्सामा मानिसहरूको भीड बढेको हो । सेवा प्रभावकारी गर्नेतर्फ समयावधि थप्नेबाहेक जनशक्ति बढाउनेतर्फ पहल भएको देखिंदैन ।

अहिले नयाँ नागरिकता लिनेभन्दा पनि प्रतिलिपि लिनेहरूले बढी समस्या बेहोर्नुपरेको छ । धोबिनी निवासी अमिन मियाँ प्रतिलिपि लिन दुई सातादेखि धाइरहेका छन् । प्रतिलिपिको लागि कहिले के पुगेन, कहिले के पुगेन भनेर कर्मचारीहरूले भन्दा आफू दुई सातादेखि जिल्ला प्रशासन कार्यालय धाइरहेको सेवाग्राही मियाँले बताए । भीडका कारण कुनै पनि कर्मचारीले समस्या बुझेर सेवा दिनेतर्फ पहल नगरेको उनको आरोप छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले मतदाता नामावली सङ्कलन भइरहेकाले अहिले नयाँ नागरिकता लिनेहरूको भीड बढेको बताए । उनले कर्मचारी अभावमा छिटोछरितो सेवा दिन नसकेको कुरालाई स्वीकारे । सप्रजिअ मल्लले सेवा प्रभावकारी गर्न उपलब्ध कर्मचारीहरूलाई बढी समय खटाउनुपरेको बताए ।

मङ्गलवारदेखि बिहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म सेवा दिने तालिका बनाइएको उनले बताए । कार्यालय समय भने नियमितरूपमा बिहान १० देखि ४ बजेसम्म हो । दैनिक तीन घण्टा सेवा बढाइएको र यसबाट सेवाग्राहीहरूलाई थप सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । साभार -प्रतिक दैनिक

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: