Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीमध्यतराईमा चीसो बढ्यो, जनजीवन प्रभावित

मध्यतराईमा चीसो बढ्यो, जनजीवन प्रभावित


वीरगन्ज,६ पौष /
तराईका जिल्लाहरूमा चीसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ । पर्सा, बारा, रौतहटलगायत मध्यतराईका जिल्लाहरूमा शीतलहरसँगै चीसो बढ्दै गएको छ । चीसो बढ्दै गएसँगै नागरिकको दैनिकी पनि प्रभावित भएको छ ।

गर्मीमा अत्यधिक गर्मी र चीसोमा अत्यधिक चीसो हुने वीरगंजसहितका जिल्लामा शीतलहर शुरू भएसँगै हुस्सु लाग्ने क्रम पनि शुरू भएको छ । दिउँसोको तुलनामा बिहान र बेलुकी चीसो बढी हुने गरेको छ ।

गत शनिवारदेखि दैनिक तापक्रम घटेको पाइएको छ । सोमवार वीरगंज आसपासमा अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । सोमवारको औसत तापक्रम १५ डिग्री मापन गरिएको प्रदेश २ को क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको जल तथा मौसम विज्ञान तथा हावापानी केन्द्रले जनाएको छ ।

सोमवार सापेक्षित आद्रता अर्थात् हावामा पानीको मात्रा ६७ प्रतिशत रहेको पाइएको छ भने हावाको वेग १० किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । अबको चार दिन तापक्रम अझै घट्ने अनुमान गरिएको छ । आगामी शुक्रवार औसत तापक्रम ८ डिग्रीमा झर्ने अनुमान छ ।

चीसोका कारण घरबाहिर निस्कँदा मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिंड्डुल गर्नसमेत समस्या भइरहेको स्थानीयहरू बताउँछन् । चीसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका तथा वृद्धवृद्धा भएका छन् । चीसो मौसममा बिहानै विद्यालय, कलेज जाने बालबालिकाहरूलाई समस्या हुने गरेको छ । बिहानीको कक्षालाई अब दिउँसो सार्नेतर्फ पनि विद्यालयमा छलफल शुरू भइसकेको मूनलाइट माविका प्रधानाध्यापक श्याम केसीले बताए ।

चीसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको कपडा व्यवसायी कौशलकिशोर वर्णवालले बताए । बजारमा कोट, ज्याकेट, स्वीटरसहितका न्यानो लुगाको बिक्री बढेको वर्णवालको भनाइ छ । चीसो बढ्दै जाँदा मौसमी रुघाखोकी र ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्न थालेको नारायणी अस्पतालका फिजिसियन डा उदयनारायण सिंह बताउँछन् ।

चीसो मौसममा विशेषगरी बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर भएका व्यक्तिको विशेष ख्याल गर्न नारायणी अस्पतालकै चिकित्सकहरूको भनाइ छ । चीसो तथा शीतलहरमा केही संस्थाले वीरगंजमा निश्शुल्क भोजन र न्यानो लुगा वितरण कार्य पनि शुरू गरेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: